व्यवसायीहरुको भावना अनुरुप सरकारले काम गर्छ : मन्त्री ढकाल

चैत २१, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारले व्यवसायीहरुको भावना अनुरुप काम गर्ने बताएका छन । उनले पर्यटन व्यवसायीहरुको भावना अनुरुप पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार लागिपरेको बताएका छन । होटल संघ नेपालको ४७ औं वार्षिक साधारणसभाको अवसरमा हिजो शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले कोरोनाबाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको बताएका हुन। सरकारले होटल व्यवसायी आफैले बनाएको स्वास्थ्य मापदण्डलाई मन्त्रिपरिषदबाट पारित गराइ यस क्षेत्रलाई चलायमान बनाउन सहयोगी बनेको उ ढकालले बताए ।
मन्त्री ढकालले पर्यटन क्षेत्रको विकासका लागि आगामी नीति तथा कार्यक्रमबाट सम्बोधन गरिने बताउँदै के कस्ता कार्यक्रम समावेस गर्नुपर्छ सुझाव दिन व्यवसायीहरुसँग आग्रह पनि गरे। उनले व्यवसायीको सुझाव अनुसार नै कार्यक्रमहरु ल्याउने प्रतिवद्धता समेत गरे। सरकारले पर्यटन व्यवसायीका लागि पुनर्कर्जा र व्यवसाय निरन्तरता कर्जा उपलब्ध गराए पनि सबै व्यवसायीले प्राप्त गर्न नसकेको गुनासो व्यवसायीहरुको छ ।