ओली अध्यक्ष भएको पार्टीमा आफ्ना नेता कार्यकर्तालाई कुनै स्थान छैन : माधव नेपाल

२०७७ चैत्र २४ गते, मंगलवार

चैत २४, काठमाडौँ । नेकपा एमाले खनाल–नेपाल समूहका वरिष्ठ नेता माधव नेपालले ओली अध्यक्ष भएको पार्टीमा आफ्ना नेता कार्यकर्तालाई कुनै स्थान नरहेको बताएका छन् । ‘ओलीको टांगमुनी छिर्ने र आत्मसमर्पण गर्ने भए अलग कुरा, नत्र ओली अध्यक्ष भएको पार्टीमा हाम्रो कुनै स्थान नभएको बताएका हुन । बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले भने, ‘ओलीले हाम्रो पक्षका सबै नेताहरुलाई पार्टीका सबै कमिटीबाट निकालिसके । आत्मसमर्पणबाहेक हामीलाई ओली गुटमा कुनै स्थान छैन ।’

प्रचण्डको कार्यकर्ता भनेर आफुहरुमाथि केपी ओलीले भावनात्मक ब्ल्याकमेल गरेको उनको आरोप छ । ‘हिजो प्रचण्डसँग चोचोमोचो मिलाउने ओली नै हुन् । यसरी स्वार्थमा चोचोमोचो मिलाउन पाइदैंन भन्ने हामीहरू हौं । आज उल्टै हामीलाई प्रचण्डको कार्यकर्ता भनेर भावनात्मक ब्ल्याक मेल गर्दैछन् ।’ पार्टीको तल्लो कमिटीसम्मै ओली प्रवृत्ति हावी रहेको उनले बताएका छन् । ‘नवौं महाधिवेशनदेखि नै ओलीले अत्याचार थाले । ओलीसँग जोडिएका व्यक्तिले जिल्ला–जिल्लामा पूर्वाग्रही व्यवहार गरेका छन् । उनीहरुले कति दुःख दिएका छन् भन्ने तपाईहरु सबैलाई थाहा छ’ नेपालले भने ।

ओलीले पार्टीलाई हुकुमी शैलीमा चलाउन चाहेको नेता नेपालको आरोप छ । ‘ओली आदेशमा विश्वास गर्नुहुन्छ । निरङ्कुशताको शिकार हुनुभएको छ । तर हामी सामूहिकतामा विश्वास गर्छौ’ उनले भने । सबै चुनौतीहरु पार गरेर एमालेलाई क्रियाशील कार्यकर्ताको पार्टी बनाउने नेपालले बताए । ‘केपी ओेलीको ताण्डव र तमासालाई अहिले दुनियाँले हेरिरहेको छ । उहाँ व्यक्तिवादी हुनुहुन्छ,’ नेपालले भने ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal