एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज गर्न संसद सचिवालयमा माओवादीको पत्र

२०७७ चैत्र २४ गते, मंगलवार

चैत २४, काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमालेमा गएका आफ्ना चार संसदलाई कारबाही गरेको छ। प्रतिनिधिसभा सदस्य रहेका चारजना सांसदलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा माओवादी केन्द्रले बुझाएको छ । माओवादीका प्रमुख सचेतक देव गुरुङले माओवादी पार्टीबाट निर्वाचित भएका प्रतिनिधिसभाका चार जना सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले पार्टी परिवर्तन गरेकाले सांसद पदबाट हटाउन भनेर अध्यक्ष तथा दलका नेता पुष्पकलम दाहालले लेखेको पत्र संसद् सचिवालयमा बुझाएका हुन् ।

भट्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् । त्यस्तै रायमाझी उर्जामन्त्री हुन् भने शाह सहरी विकास मन्त्रालयको जिम्मेवारीमा छन् । चौधरी श्रममन्त्री हुन् । संसद् अधिवेशन चालु रहेको बेला सांसदबाट हटाइएको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रिय सभामा माओवादीबाट निर्वाचित रामबहादुर थापालाई पनि हटाउने माओवादीले निर्णय गरेको छ । त्यसको जानकारी केही दिनमा मात्रै संसद् सचिवालयलाई दिइने माओवादी नेताहरूले बताएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal