पत्रकार महासंघको चुनाव आज, पहिलो पटक प्रत्यक्ष प्रणालीबाट चुनाव हुँदै (उम्मेदवार सहित)

२०७७ चैत्र २५ गते, बुधबार

चैत २५, काठमाडौँ । नेपाल पत्रकार महासंघको २६ औं वार्षिक साधारणसभा तथा नयाँ नेतृत्वको लागि आज मतदान हुँदै छ । पत्रकार महासंघमा पहिलो पटक प्रत्यक्ष प्रणालीबाट एकैसाथ देशैभर एकसाथ निर्वाचन हुँदैछ । काठमाण्डौ उपत्यकासहित देशभर महासंघले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्र तोकिएको छ । केन्द्रीय कार्यसमितिका, प्रदेश कार्यसमिति, जिल्ला र सम्बन्धित शाखा कार्यसमितिहरुको नेतृत्व चयनका लागि महासंघले एकै साथ मतदानको व्यवस्था मिलाएको जनाएको छ । देशभरका करिब एक सय मतदान केन्द्रमा महासंघका निर्वाचनमा १३ हजार १२२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् ।

यसपटक महासंघमा पहिलो पटक राजनीतिक दलहरुमा पनि गैर कम्युनिष्ट र कम्युनिष्ट गठबन्धन भएको छ । नेकपा एमाले विभाजन भएपछि नेपाली काग्रेस निकट पत्रकारहरुको गठबन्धन कम्युनिष्ट गठबन्धसँग प्यानल बनाएर चुनावमा होमिएको छ । त्यस्तै गैर राजनीतिक रुपमा पनि अध्यक्ष लगायत विभिन्न पदमा देशैभरी उम्मेदवारी दिएका छन् । महासंघको केन्द्रीय समितिको ४९ पदाधिकारीका लागि मतदान हुनेछ भने प्रदेश र शाखाहरुले पनि आ–आफ्ना समिति निर्माणका लागि निर्वाचन गराउने छन् । महासंघको नयाँ नेतृत्वका लागि नेपाली काग्रेस निकट पत्रकार समूह, मओवादी, माधव नेपाल र अन्य कम्युनिष्ट पार्टी निकट सम्बद्ध पत्रकारहरुका साझा उम्मेदवार विपुल पोखरेल र एमाले ओली निकट पत्रकारहरुको तर्फबाट निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा छन् । यसैगरी गजेन्द्रसिंह बुढाथोकी गैर राजनीति रुपमा उम्मेदवारी दिएका छन। उम्मेदवारहरूले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य एजेन्डा बनाएका छन् ।

महासंघ केन्द्रको वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंहले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी तथा केन्द्रीय महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतमबीच प्रतिस्पर्धा हुँदै छ । नयाँ संरचनाअनुसार सात प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुँदा त्यसबाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ भने बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ ।


हेर्नुहोस् उम्मेदवार र नमूना मतपत्र :

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal