नयाँ सत्ता गठबन्धनका लागि कांग्रेस, माओवादी र जसपाको संयुक्त बैठक बस्दै

२०७७ चैत्र २७ गते, शुक्रबार

चैत २७, काठमाण्डौ । नयाँ सत्ता गठबन्धनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक बस्दै छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवालाई नयाँ सरकार गठनको नेतृत्व गर्न आग्रह गर्दै आइरहेको अवस्थामा मौन बसेका देउवाले बिहीबारदेखि भने सक्रियता देखाएका छन।कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा तीन दलको संयुक्त बैठक दिउँसो ३ बजे बस्न लागेको सभापति देउवाको सचिवालयले जनाएको छ ।

यसअघि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । त्यसको एक हप्तापछि तीन दलको बैठक बस्न लागेको हो । आजको बैठक नयाँ सरकार गठनमा केन्द्रीत हुने नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने माओवादी केन्द्रले पहिलेदेखि नै भन्दै आएको छ । यस्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थतसमेत फिर्ता नलिँदा दलहरु निर्णयमा पुग्न सकिरहेका छैनन् । सरकारलाई दिएको समर्थन फिर्ता नगरेकाले माओवादी केन्द्रको भूमिका दोहोरो देखिएको जसपा र कांग्रेसका नेताहरुले बताइरहेका छन् ।

माओवादी केन्द्रले पनि जसपा र कांग्रेसको कारण नयाँ सरकार बन्न ढिलाइ भइरहेको बताइरहेको छ । जसपामा सरकारमा जानेबारे दुई धार देखिएकाले पनि समस्या देखिएको माओवादी र कांग्रेसका नेताहरुले बताएका छन् । सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापना भएको साढे एक महिना बितिसक्दासमेत सत्ता गठबन्धनको अङ्कगणित नमिल्दा तीन दलले नयाँ सत्ता गठबन्धन बनाउन सकिरहेका छैनन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal