मन्त्रीबाट पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्तिको तयारी

२०७७ चैत्र २७ गते, शुक्रबार

चैत २७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको कारबाहीमा परेर सांसद पद गुमाएका चार जना मन्त्री पुनर्नियुक्ति हुने भएका छन । उनीहरुले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् । माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका छन। उनीहरूको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजेका लागि तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

हालै एमाले केन्द्रीय सदस्यमा मनोनित भएका उनीहरूलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो ।राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेमा सांसदबाट पदमुक्त हुने व्यवस्था छ । माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो भने सांसदहरूको हैसियतमा पाएको मन्त्री पदबाट पनि पदमुक्त भएका थिए । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal