भारतमा एकैदिन १ लाख ३१ हजारभन्दा बढीलाई संक्रमण, ७८० को मृत्यु

२०७७ चैत्र २७ गते, शुक्रबार

चैत २७, काठमाण्डौ । भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ८० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ ।

भारतका ३६ राज्य तथा प्रदेशहरूमध्ये पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, मध्यप्रदेश, छत्तिसगढ, कर्नाटक, दिल्ली, पञ्जाब, जम्मु–कश्मीर, गुजरातमा संक्रमण तीव्र छ । त्यसमध्ये पनि महाराष्ट्रको अवस्था निकै भयावह देखिएको छ । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ५९ हजार ९ सय ७ जनामा संक्रमण पुष्टि भएको हो । महाराष्ट्रका मुम्बई, पुने, नासिकलगायतका सहर बढी प्रभावित छन् । संक्रमणले भयावह बन्दै गएपछि महाराष्ट्र र उत्तर प्रदेशले राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु र बिदाको दुई दिन शनिबार र आइतबार लकडाउन गर्ने निर्णय गरिसकेको छ । त्यसैगरी, संक्रमण जोखिम कम गर्न मध्यप्रदेश सरकारले महाराष्ट्रसँगको सीमा बन्द गरेको छ । त्यसैगरी उत्तरप्रदेश, पञ्जाबमा पनि विद्यालय र क्याम्पसहरू बन्द गरिएका छन् ।

संक्रमण फैलिँदै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिहीबार भएको भर्चुअल बैठकमा खोप अभियानबारे छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बैठकका क्रममा मोदीले महाराष्ट्रका लागि १७ लाख मात्रा खोप तत्काल उपलब्ध गराउने बताएका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal