प्रधानमन्त्री ओलीलाई हटाउन कांग्रेसले विकल्प दिनुपर्छ : रामचन्द्र पौडेल

२०७७ चैत्र २७ गते, शुक्रबार

चैत २७, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन कांग्रेसले विकल्प दिनुपर्ने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा पौडेलले भने, ‘अहिले हामी चुनौतीको घडीमा उभिएका छौं। यो ख्यालख्याल छैन। एउटा चान्स हामीले मिस गरेकै हो। फेरि पनि अर्को चान्स मिस गर्ने हो भने रून पाउनु न हाँस्न पाउनु भन्नेजस्तो हुनेछ।’
पौडेलले ओलीलाई प्रधानमन्त्री हटाउन पार्टी उदार भएर विकल्प दिनुपर्ने बताएका हुन्। ‘निरंकुशतातिर गइरहेको सत्ताको विकल्प खोज्नुपर्छ। विकल्पका लागि उदार भएर जसरी विकल्प आउँछ त्यसरी हामीले अरू पार्टीसँग मिलेर इमान्दार प्रयत्न गर्नुपर्छ,’ उनले भने।

त्यस्तै नेता पौडेलले पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनवमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्नेतर्फ अहिले नै सचेत बन्नुपर्ने बताए । अहिलेको सरकरको कारण लोकतन्त्र बच्ने अवस्थामा नरहेकोले लोकतन्त्र बचाउनको लागि कांग्रेसले आफूलाई बचाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘पार्टीको अधिवेशन सम्पन्न हुन पाएको छैन पार्टी यस्तो अवस्थामा छ । चुनावमा हामफाल्ने कुरा त्यसले हामीलाई कहाँ पुर्याउँछ । आज हामीले एउटै कुरा सोचौं कि लोकतन्त्र कसरी बचाउने । लोकतन्त्र बचाउनको लागि हामीले आफूलाई पनि बचाउनुपर्छ ।’ वर्तमान प्रधानमन्त्रीले संवैधानिक परिषद्मा एकलौटी गर्न खोजेर सर्वसत्तावादको भर्याङ चढ्न खोजेको पुष्टि भएको पनि उनले बताए । कांग्रेसले व्यवस्था बचाउन जोड दिनुपर्ने उनले बताए । व्यवस्था बचेमा मात्रै सत्ता आफै आउने भएकाले अहिलेको व्यवस्था बचाउन कांग्रेस नै लाग्नुपर्ने उनको भनाइ थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal