भारतबाट नेपाल फर्केका आठ जनामा कोरोना पुष्टि

२०७७ चैत्र २९ गते, आईतवार

चैत २९, बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ जनाको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन् । सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । सीमा नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क सञ्चालन गरिएको हो । यस्तै सरकारले कोरोना सङ्क्रमणबाट बच्नका लागि २५ जनाभन्दा भीडभाड हुने खालका क्रियाकलाप नगर्न अनुरोधसमेत गरेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै सीमा नाकामा समेत उच्च सतर्कता अपनाइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal