नयाँ वर्षमा परम्परागत तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्राका लिङ्गो ठड्याइँदै

२०७७ चैत्र ३१ गते, मंगलवार

चैत २९, काठमाण्डौ । भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्राको क्रममा आज लिङ्गो उठाइँदै छ । चैत मसान्तको दिन गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो ईन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू निलो कपडाले बेरिएको हुन्छ। लिङ्गो को कोखामा झुण्ड्याइएका दुई ध्वजाहरूलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ। एकजोडी ध्वजा फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ। लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ। लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ। लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ।

चैत मसान्तमा ईन्द्रध्वजासहितको लिङ्गो उठाएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवं पूजा गरी बेलुकी लिङ्गो ढाल्ने परम्परा छ । लिच्छविकालदेखि बिस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् ।
परापूर्वकालदेखि चलिआएको विश्व प्रसिद्ध यो जात्रा बिस्केट अर्थात “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । त्यस्तै भक्तपुरको कुम्हा टोलमा आज दिउँसो हात नभएको लिङ्गो ठड्याउने गरिन्छ । हात नभएको लिङ्गो आउँदो वैशाख ५ गते ढालेपछि यस वर्षको भक्तपुरको बिस्केट जात्रा सकिनेछ । लिङ्गो ढालेपछि बिस्का जात्राको अन्त्य हुने भएकाले पनि नेवार समुदायमा यो लिङ्गो उभ्याउनुको बेग्लै महत्व रहिआएको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal