२०७७ को अर्थतन्त्र : आर्थिक वृद्धि ऋणात्मक, सेयर र डिजिटल कारोबारमा उत्साह

२०७८ बैशाख १ गते, बुधबार

बैशाख १, काठमाण्डौ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको चपेटाका कारण एक वर्षको अवधिमा मुलुकको अर्थतन्त्रले ठूलो क्षति बेहोर्नु पर्यो। निजी क्षेत्रदेखि राजनीतिक नेतृत्वले आर्थिक समृद्धिको अजेण्डालाई प्राथमिकतामा राखे पनि मुलुकको आर्थिक क्षेत्रका लागि २०७७ सुखद हुन सकेन। २०७८ लाई स्वागत गर्दा अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि २०७७ मा पर्यटन, उद्योग, निर्माण, व्यापारलगायत सबै क्षेत्र प्रभावित भए। ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको भए पनि २०१९/२० मा आर्थिक वृद्धि १.९९ प्रतिशतले ऋणात्मक भयो। कोरोना असरका कारण अर्थतन्त्र ऋणात्मक भएको हो। पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर साढे ६ प्रतिशत माथि थियो।
वर्षको पहिलो त्रैमासिक अर्थतन्त्रमा पनि कोरोनाले असर गरेको छ। पहिलो त्रैमासिकमा अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक रहेको तथ्यांक विभागले सार्वजनिक गरेको थियो। पछिल्ला दिनमा आर्थिक क्रियाकलापमा सुधार आएको छ। पहिलो त्रैमासले यो वर्षलाई पनि असर गर्ने अनुमान गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड–१९का कारण मुलुकको आर्थिक क्षेत्रमा ठूलो क्षति पुगेको बताए। ‘पर्यटन क्षेत्रदेखि साना तथा मझौला व्यवसाय ठूलो समस्यामा परे,’ गोल्छाले भने, ‘यो वर्ष आर्थिक क्षेत्रमा मात्र नभएर मुलुकका सबै क्षेत्र चुनौतीपूर्ण वर्ष बन्यो।’ २०७७ मा चुनौतीको सामाना गरे पनि आगामी दिनमा नयाँ भिजन अनुसार आर्थिक क्षेत्रलाई अघि बढाउनुपर्ने उनले बताए।
राष्ट्रिय तथ्यांक विभागका अनुसार करिब २० वर्षअघि माओवादी द्वन्द्वका बेला आर्थिक वृद्धिदर ऋणात्मक भएको भए पनि त्यसयता २०७७ मा सबैभन्दा क्षति पुग्यो। कोभिडका कारण धेरै व्यापार व्यवसाय बन्द भए। स्वदेशी र वैदेशिक रोजगारी गुम्दा मुलुकमा गरिबीको रेखामुनिको जनसंख्या बढ्यो। युवा वैदेशिक रोजगारीमा जान पाएनन्। मुलुकको करिब १२ लाख जनसंख्या गरिबीको रेखामुनि धकेलिएको अनुमान छ। कोभिडका कारण पूर्वाधार तथा यातायात क्षेत्रमा मात्र ५४ अर्ब रूपैयाँको क्षति पुग्यो। सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा पर्यो। पोहोरको तुलनामा यो वर्ष ८७.४ प्रतिशत न्यून पर्यटक आए। मुलुकको ठूलो जनशक्ति आश्रित रहेको कृषि क्षेत्रले पनि क्षति बेहोर्नु पर्यो। कम असर परेको भनिएको कृषिमा समेत करिब १९ अर्ब रूपैयाँको क्षति भएको अनुमान छ।

कोभिडका कारण पूर्वाधार विकासमा खर्च गर्नुपर्ने बजेट स्वास्थ्य उपचार र स्वास्थ्य पूर्वाधारमा खर्र्चनुर्ने अवस्था आयो। आयात, निर्यात, रोजगारी, उत्पादन प्रभावित हुँदा राजस्व संकलनमा गिरावट आयो। त्यसले सरकारले बजेटको आकार नै घटायो। गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक भए पनि मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) भने बढेको छ। गत वर्ष मुलुकको जिडिपी ३९ खर्ब ४३ अर्ब रूपैयाँ थियो। विभागले जिडिपी गणनाको आधार वर्षलाई परिवर्तन गरेका कारण यो बढेको हो। सरकारले आर्थिक वृद्धिका लागि औद्योगिकीकरण गर्ने बताए पनि स्वदेशी तथा विदेशी लगानी आकर्षित हुन सकेन। उद्योगी, व्यवसायीले पर्ख र हेरको नीति अवलम्बन गर्दा लगानी बढ्न सकेन।

अघिल्लो वर्षभन्दा कम उद्योग दर्ता भए। २०७७ मा एक खर्ब ४९ अर्ब ३४ करोड ८३ लाख रूपैयाँको लगानी प्रतिबद्धतासहित उद्योगत दर्ता भए। अघिल्लो वर्ष सोही अवधिमा दुई खर्ब २९ अर्ब ९७ करोड ६५ लाख रूपैयाँ लगानी प्रतिबद्धतासहित उद्योग दर्ता भएका थिए। स्वदेशी मात्र नभएर विदेशी लगानी प्रतिबद्धता पनि २०७७ मा घट्यो। २०७६ मा ४३ अर्ब ७७ करोड रूपैयाँ लगानी प्रतिबद्धता आएकोमा २०७७ मा ३३ अर्ब ९२ करोड रूपैयाँमा सीमित भयो। कोभिडका कारण गत वर्षको सुरुवातमा आयात घट्दा मुलुकको शोधनाान्तर भुक्तानी भने सन्तोषजनक रह्यो। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ८ महिनासम्म भुक्तानी सन्तुलन ६८ अर्ब रूपैयाँले बचतमा छ। यो सकारात्मक पक्ष हो।कोभिडका कारण रेमिट्यान्स घट्ने अनुमान गरिए पनि आगमन सन्तोषजनक रह्यो। २०७७ सालको ११ महिनामा करिब ८ खर्ब ९१ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रियो।

सेयर र डिजिटल कारोबारमा उत्साह
कोभिड–१९ का कारण अन्य क्षेत्रमा नकारात्मक असर पारे पनि पुँजी बजार र डिजिटल भुक्तानीमा भने उत्साह जागेको छ। केही नयाँ व्यवसाय पनि सुरु भए। विशेषगरी अनलाइन सपिङ, स्वास्थ्य सामग्रीसम्बन्धी उद्योगले राम्रै अवसर पाए। कोभिडका कारण मुलुकको डिजिटल अर्थतन्त्र भने फस्टाएको छ। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विद्युतीय भुक्तानीलाई प्रोत्साहित गर्दै क्युआर कोडमार्फत भुक्तानी गर्ने अभियान सञ्चालन गरेका छन्।

कोभिडका कारण भौतिक उपस्थितिभन्दा डिजिटल प्लेटफर्मको प्रयोग गरेर भुक्तानी गर्ने क्रम बढेको छ। अर्थशास्त्री विश्व पौडेल अन्य क्षेत्रमा असर परे पनि डिजिटल भुक्तानी बढेको बताउँछन्। ‘कोभिडले अर्थतन्त्रमा असर पुर्याए पनि डिजिटल पेमेन्टमा अवसर सिर्जना गरेको छ,’ उनले भने, ‘अनलाइन सपिङमा अवसर सिर्जना भयो।’ क्युआर कोड र मोबाइल बैंकिङका प्रयोगकर्ता दोब्बरभन्दा वृद्धि भए। नेपाल राष्ट्र बैंकका अनुसार एक महिनामा नै क्युआर कोडमार्फत सबा ६ लाख बढीले करिब साढे दुई अर्ब रूपैयाँको कारोबार गरे। लगानीका लागि अन्य नयाँ क्षेत्रमा जाँदा जोखिम हुन सक्ने ठानेर पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढ्यो। नेप्से परिसूचकसँगै कारोबार रकम, बजार पुँजीकरणले नयाँ रेकर्ड कायम राख्यो। एक वर्षमा डिम्याट खाता खोल्ने करिब दोब्बर वृद्धि भए। करिब ३३ लाखभन्दा बढी डिम्याट खाता खुलेका छन्। यो खवर आजको नागरीक दैनिकमा छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal