बिस्केट जात्राको आज विशेष दिन : दिनभर जात्रा, बेलुका लिङ्गो ढालिने

२०७८ बैशाख १ गते, बुधबार

बैशाख १, काठमाण्डौ । भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्काः अर्थात बिस्केट जात्राको लिङ्गो आज ढालिदैछ । चैत मसान्तमा ईन्द्रध्वजा सहितको लिङ्गो उठाएर बैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवं पूजा गरी बेलुका लिङ्गो ढाल्ने परम्परा छ । भेलुखेलमा जात्रा हेर्न भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रे लगायतका क्षेत्रबाट दर्शनार्थीको आज बिहानैदेखि भिड लागेको छ । चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवलाई विशेष पूजा गरेर गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरब र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हात लामो ईन्द्रध्वजा सहितको लिङ्गो उभ्याउने परम्परा छ ।

आज यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने, शत्रु नाश हुने जनविश्वास रहेको छ । लिच्छवीकालदेखि बिस्काः जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठ रातसम्म मनाउने गर्दछन् । परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध यो जात्रा बिस्केट अर्थात “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । त्यस्तै भक्तपुरको कुम्हा टोलमा हिजो दिउँसो हात नभएको लिङ्गो ठड्याएको छ । भेलुखेलमा ठड्याएको लिङ्गो आज ढालिन्छ भने हात नभएको लिङ्गो आउँदो बैशाख ५ गते ढालेपछि यस वर्षको भक्तपुरको बिस्काः जात्रा सकिनेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal