प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै, प्रचण्डलाई फोनबाट निम्तो

२०७८ बैशाख ४ गते, शनिबार

वैशाख ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दै छ । बैठक शनिबार विहान ११ बजे बस्न लागेको हो ।
कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले बताए । पछिल्ला दिनमा कोरोना महामारी बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ ।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकको निम्तो दिनका लागि अध्यक्ष प्रचण्डलाई फोन गरेको बताएको छ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि दुई नेताबीच भेटवार्ता भएको छैन । यसअघि गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुवैबीच वाक्युद्ध चलिरहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal