कोरोना संक्रमितको संख्या उच्च, उपत्यकाका सहित १४ जिल्ला अति प्रभावित सूचीमा

२०७८ बैशाख ४ गते, शनिबार

वैशाख ४, काठमाडौं । सक्रिय कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ५ हजार ८ जना सक्रिय संक्रमित छन् । यसमध्ये १ सय जना आईसीयू र ३८ जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा एन्टिजेनसहित ६ हजार ५ सय ५८ जनाको परीक्षण गर्दा ९ महिने बालिकादेखि ९६ वर्षीय वृद्धसम्मका ९ सय जनामा संक्रमण पुष्टि भएको छ । २० देखि २९ वर्ष उमेर समूहका सबैभन्दा बढी २ सय ५ जना संक्रमित भएका छन् । शुक्रबारको संक्रमण दर १४ दशमलव ७२ प्रतिशत छ । संक्रमण दर बुधबार १२ दशमलव ७२, बिहीबार १२ दशमलव ८६ प्रतिशत थियो ।

‘संक्रमण दर बढेकाले सावधानी अपनाउन बारम्बार आग्रह गर्दै आएका छौं,’ मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने । शुक्रबार संक्रमित देखिएकामा ९ महिनादेखि १८ वर्षसम्मका मात्रै ६९ जना छन् । यसमा ३३ बालिका र ३६ बालक छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै ३२ जना बालबालिका संक्रमित भएका छन् । जोखिम कम गर्न मन्त्रालयले बिहीबार उपत्यकाका ३ सहित १४ जिल्लालाई अति प्रभावित सूचीमा राखेको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal