पशुपति क्षेत्रका सबै मन्दिर बन्द, घाटमा पनि उपस्थित हुन निषेध

२०७८ बैशाख १० गते, शुक्रबार

वैशाख १०, काठमाडौं । नयाँ कोरोना संक्रमितको संख्या अत्यधिक बढ्न थालेपछि वैशाख १० गते शुक्रबार (आज) देखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी राखिएको छ। कोभिड १९ को सङ्क्रमण बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दा बन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर विसं २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि एक बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने महाशिवरात्रिका अवसरमा फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आह्वान गरेको छ । घाट सेवामा आउने सबैलाई अनिवार्य रुपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal