नेपालमा एकैदिन अहिले सम्मकै बढी ७२११ कोरोना भाइरसका संक्रमित, २७ जनाको मृत्यु

२०७८ बैशाख १९ गते, आईतवार

वैशाख १९, काठमाडौं । नेपालमा एकैदिन अहिलेसम्मकै बढी ७ हजार २ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १६ हजार १ सय ४७ पीसीआर परीक्षणबाट ७ हजार १ सय ३७ जना तथा ६ सय २३ एन्टिजेन परीक्षणबाट ७४ जना गरी ७ हजार २ सय ११ जना संक्रमित थपिएका हुन् । थपिएकामा काठमाडौं उपत्यकामात्र ३५ सय ९५ जना हुन् । जसमा काठमाडौंका २७ सय ४४, ललितपुरका ५ सय ५० तथा भक्तपुरका ३ सय १ जना थपिएका हुन् ।

त्यस्तै रुपन्देहीका ४ सय ६६ जना, बाँकेका ४ सय ६ जना, मोरङका २ सय ४९ जना, कैलालीका २ सय ३२ जना, धनुषाका २ सय २८ जना, सुर्खेतका १ सय ७४ जना, मकवानपुरका १ सय ६९ जना रहेका छन् । थपिएकामा ९ वर्ष मुनिका बालबालिकामात्रै १ सय ६६ जना हुन् । त्यस्तै १० देखि १९ वर्षका ४ सय ५७ जना थपिएका छन् । हाल सक्रिय संक्रमितको संख्या ४८ हजार ७ सय ११ पुगेको छ । आइतबार थप २७ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय २५ पुगेका छन् । त्यसैगरी १६ सय १२ जना संक्रमणमुक्त भएका छन् । यो दर कुल संक्रमितको ८४ दशमलव ५१ प्रतिशत मात्रै हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal