सीईडीबी हाइड्रोपावरको आईपीओमा आवेदन दिने (आज) मंगलवार अन्तिम दिन, छुटाउनु भयो कि… ?

२०७८ बैशाख २१ गते, मंगलवार

वैशाख २१, काठमाडौं । शुक्रबारदेखि सार्वजनिक निष्कासनमा आएको सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र मात्र कम्पनीले आईपीओ विक्री बन्द गर्न लागेको हो । कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा करिब ३ गुणा बढी आवेदन परेको थियो । कम्पनीले रु २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गरेको हो ।

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ । २०७४ साल असार २७ गते आईपीओ निष्कासनका लागि आवेदन दिएको कम्पनीले करिब ४ वर्षपछि आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख २ गते अनुमति पाएको हो । कम्पनीद्वारा प्रवद्र्धित साङ्गे जलविद्युत् आयोजना र राधि जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारेखोला जलविद्युत् आयोजना, दोर्दी १ जलविद्युत् आयोजना र रुकुमगाडा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।
कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना प्रवर्द्धनका लागि लगानी गरेको छ । आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal