कोरोना सङ्क्रमण नियन्त्रणका लागि अहिलेसम्म ४८ जिल्लामा निषेधाज्ञा घोषणा

२०७८ बैशाख २२ गते, बुधबार

वैशाख २२, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि अहिलेसम्म ४८ वटा जिल्लामा निषेधाज्ञा घोषणा भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि बाजुरा, रोल्पा र महोत्तरीमा निषेधाज्ञा सुरु भएपछि निषेधाज्ञा घोषणा हुने जिल्लाको संख्या ४८ पुगेको हो । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि निषेधाज्ञा सुरु हुने पनी गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार सिराहा, बारा र बाग्लुङमा भोलि बिहानदेखि निषेधाज्ञा लागू हुनेछ । यो सँगै निषेधाज्ञा लागू गरिएका जिल्लाको संख्या ५१ पुग्नेछ ।

निषेधाज्ञा लगाउँदासमेत कोरोना भाइरसको सङक्रमण कम नभएका जिल्लामा थप कडाइ गरिएको छ । कैलालीमा ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । यस्तै सुर्खेत, कास्की र पर्सामा ३१ गते राति १२ बजेसम्मका लागि थपिएको छ । बाँकेमा २७ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने भएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को गएको वैशाख १३ गतेको निर्णय अनुसार कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय सङ्क्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय सङ्क्रमित पुगेपछि निषेधाज्ञा लगाउने व्यवस्था छ । यसैबीच काठमाण्डौ उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरीएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal