राष्ट्रियसभा सदस्य उपनिर्वाचन : गृहमन्त्री रामबहादुर थापा र डा.खिमलाल देवकोटाले उम्मेदवारी दर्ता

२०७८ बैशाख २४ गते, शुक्रबार

वैशाख २४, हेटौंड । राष्ट्रियसभा सदस्य रिक्त पदका लागि गृहमन्त्री रामबहादुर थापा बादल र डा।खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । वागमती प्रदेशको सदरमुकाम हेटौंडास्थित निर्वाचन कार्यालयमा पुगेका उनीहरुले शुक्रबार मनोनयन दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् । गृहमन्त्री बादलले अग्नि खरेललाई साथ लिएर सिम्रिक एयरको हेलिकप्टर चढेर हेटौंडा पुगेर मनोनयन दर्ता गरेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको थियो ।

त्यस्तै स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ । देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन् । देवकोटाको मनोनयन दर्ताका लागि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, ओम ग्लानलगायतका नेताहरु निर्वाचन कार्यालयमा पुगेका थिए । निर्वाचन कार्यालयले वाग्मती प्रदेशमा रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तोकेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal