विश्वासको मतका लागि आज मतदान हुँदै, प्रधानमन्त्रीले मत पाउने सम्भावना कम

२०७८ बैशाख २७ गते, सोमबार

वैशाख २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार प्रतिनिधीसभामा विश्वासको मत लिदै छन। सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्रको आन्तरिक मतान्तर तथा अरु दलभित्र पनि विवाद भएका बेला प्रधानमन्त्री ओलीले सदनमा विश्वासको मत लिन लागेका हुन। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदलाई पनि मतदान प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सम्बोधन गर्नुहुनेछ । पूर्वप्रधानमन्त्री र पूर्वसभामुखलाई भने बोल्नका लागि समयसीमा नतोक्ने प्रचलन रहेको छ । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र पूर्वसभामुख बाहेक अरुका हकमा भने छलफलका लागि करीब एक घण्टाको समय निर्धारण गरिएको छ । मतदानपछि अधिवेशन आज नै अन्त्य हुनेछ ।
नेपालको संविधान जारी भएपछि विश्वासको मतको प्रयोजनका लागि पहिलो पटक बस्न लागेको यो अधिवेशन सकिए लगत्तै सरकारले बर्खे अधिवेशन बोलाउनेछ ।

अधिवेशनको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ । त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्षमण्डल चयन गरिनेछ । बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नेछन। प्रस्ताव टेबल गरेसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गर्नेछन। त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नेछन । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्न्त्री ओलीले जवाफ दिनेछन। प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव अघि बढ्नेछ । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था रहनेछ ।
विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था गरीएको छ । संवैधानिक व्यवस्थानुसार २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ सदस्य कायम छ । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात १३६ मत प्राप्त गर्न आवश्यक छ । मत बराबर भएको अवस्थामा सभामुखले निर्णय दिन पाउनु हुनेछ, अन्यथा आजको अधिवेशनमा २६६ सांसदले मत जाहेर गर्नेछन ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत पाउने र नयाँ गठबन्धनको सरकार बन्ने दुवै सम्भावना भने न्युन देखिन्छ । आफ्नै दलभित्र विश्वासको वातावरण बनाउन नसकेका ओलीलाई जनता समाजवादी पार्टीले पनि मत नदिने स्पष्ट भैसकेको छ । कांग्रेस र माओवादीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने तर विपक्षमा मत दिन स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको छ । ३२ सांसद रहेको जसपाको भट्टराई–यादव समूहले यसअघिदेखि नै विश्वासको मतको विपक्षीमा मतदान गर्ने स्पष्ट गरिसकेको छ । एमालेका सबै एकसय २१ जना सांसदले मत दिए पनि प्रधानमन्त्री ओलीले विश्वासको मत १३६ पुर्याउने सम्भावना निकै कम रहेको छ । त्यसमाथि एमालेका कति सांसदले ओलीलाई मत दिन्छन् भन्ने स्पष्ट छैन । एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको अवस्थामा मात्र विश्वासको मत दिने निर्णय गरेको छ । खनाल–नेपाल समूहले ओलीका तर्फबाट त्यस्तो प्रतिबद्धता आज बिहान ९ बजेसम्म नआए सामूहिक राजीनामा गर्ने जनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदले मत दिन पाउनेछन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal