दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ७३ जिल्लामा निषेधाज्ञा घोषणा

२०७८ बैशाख ३१ गते, शुक्रबार

वैशाख ३१, काठमाडौं । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा अहिलेसम्म ७३ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ । कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको हो । गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत निर्देशन दिएको छ । मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वीरुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ । कोरोना सङ्क्रमण नियन्त्रणको महìवपूर्ण विकल्प निषेधाज्ञा नै भएकाले मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा बिहीबारबाट थप कडा पारिएको छ । कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाडौँ (डीसीसीएमसी)ले अत्यावश्यकबाहेकका सेवा सञ्चालनमा निषेध गरेको छ । निषेधाज्ञामा पनि बिहान सवारीसाधनको बाक्लो चाप देखिएपछि डीसीसीएमसी प्रमुख एवं काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहितको टोली सडक अनुगमनमा निस्केर निषेधाज्ञा कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएका थिए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार निषेधाज्ञा अवज्ञा गर्ने मोटरसाइकल, ट्याक्सी–कार, ढुवानीलगायतका सवारीसाधन होल्ड गर्ने गरेको छ ।

बैशाख पहिलो हप्तादेखि नै बढी प्रभावित जिल्लाहरुमा निषेधाज्ञा सुरु भए पनि सङ्क्रमण न्यूनीकरण हुन भने सकिरहेको छैन । सरकारले सङ्क्रमण नियन्त्रणका लागि प्रयास जारी राखेको बताए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै स्थानीय बासिन्दाले नै हेल्चक्र्याइँ समेत गरेको देखिएको जनस्वास्थ्यविदहरुले बताएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal