आज बैशाख शुक्ल “पूर्णिमा” २५६५ औं बुद्धजयन्ती, शान्तिको कामना गर्दै देशभर मनाइँदै

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, काठमाडौं । आज २५६५ औं बुद्ध जयन्ती देशभर मनाइँदैछ । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, मुत्यु बैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँदै छन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्ने सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६५ औं जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

तर कोरोना महामारीको संक्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण चैत्य, गुम्बा, विहार लगायतमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि मात्र पूरा गरिने छ । गएको वर्ष पनि लकडाउनका कारण चैत्य, गुम्बा, विहारलगायतमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो । लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाउने निर्णय भएको छ । सरकारले बुद्धजयन्तीका दिन देशभर सार्वजनिक बिदा दिँदै आएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal