जंगली हात्तीको आक्रमणबाट बर्दियामा आमा-छोरीको मृत्यु

जेठ १२, काठमाडौं । बर्दियामा जंगली हात्तीको आक्रमणबाट आमा(छोरीको मृत्यु भएको छ। सोमबार राति ९ बजे गेरुवा गाउँपालिका वडा नम्बर १ सरखोल खचपुरकी ३७ वर्षीया चन्द्रा विक र उनकी ३ वर्षीया छोरी दिपिका विकमाथि आफ्नै घरमा बसिरहँदा बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई वटा जंगली हात्ती आएर आमा(छोरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीहरूलाई हात्तीले आफ्नो सुडमा उठाएर घरबाट अन्दाजी ३० मिटर टाढा लगेर छाडेको प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले जानकारी दिए। त्यसक्रममा आमा चन्द्राको घटनास्थलमै मृत्यु भएको र छोरी गम्भीर घाइते भएकी थिइन्।
उनलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो। बालिकाको मंगलबार बिहान पौने ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।