रसुवागढी हाइड्रोपावरको नोक्सानी घट्यो, सञ्चालन नाफा ऋणात्मक

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको नोक्सानी गत वर्षभन्दा यस वर्ष घटेको छ । कम्पनीले बुधवार प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले चालू आवको तेस्रो त्रैमाससम्ममा रू २ करोड ४६ लाख ४३ हजार नोक्सानी व्यहोरेको छ ।
कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू ६ करोड ४० लाख २६ हजार नोक्सानी व्यहोरेको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले खर्च नियन्त्रण गर्दा नोक्सानी घटेको हो । सो अवधिमा कम्पनीको सञ्चालन नाफा रू २ करोड ७ लाख ६१ हजार ऋणात्मक रहेको छ ।
चुक्तापूँजी रू ६ अर्ब १५ करोड ७८ लाख रहेको उक्त कम्पनीको रिटेन्ड अर्निङ रू २२ करोड ६४ लाख ऋणात्मक छ । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको हालसम्म करीब ८० प्रतिशत भौतिक प्रगति रहेको छ ।
५० प्रतिशत स्वपूँजी तथा ५० प्रतिशत ऋण रहने गरी वित्तीय व्यवस्थापन गरिएमोमा स्वपूँजी अन्तर्गत ५१ प्रतिशत संस्थापक शेयरधनी र ४९ प्रतिशत सर्वसाधारण शेयरधनी हुने गरी व्यवस्था गरेको कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal