प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्चमा परेका १९ रिटमाथि आजदेखि सुनुवाइ हुँदै

२०७८ जेष्ठ १३ गते, बिहीबार

जेठ १३, काठमाडौं । प्रतिनिधि सभा विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका ३० वटा रिटहरूमध्ये १९ वटा रिटमा आजदेखि सुनुवाइ हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै परेको रिटमाथि आजदेखि सुनुवाइ सुरु गर्ने भएको हो ।
आज सुनुवाइ हुने रिटमा प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै अन्तरिम आदेशमार्फत निर्णय कार्यान्वयन रोक्नुपर्ने माग गरिएको छ ।
सरकारको सिफारिसमा जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसहित १४६ सांसदले पनि प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

संसद विघटनविरुद्ध आज अन्तरिम आदेश जारी नभएमा सरकारले पर्सि अध्यादेशमार्फत नै बजेट ल्याउने छ । बजेट घोषणा हुने दुई दिनअघि मात्रै सर्वोच्चमा सुनुवाइ हुन लागेकाले पनि अन्तरिम आदेश आउने या नआउने विषयलाई निकै महत्त्वका साथ हेरिएको छ । यस्तै संवैधानिक इजलासमा जाने ११ वटा रिटको भने भोलिदेखि सुनुवाइ हुनेछ । ३० वटा रिटमध्ये २६ वटा प्रतिनिधि सभा विघटनको विपक्षमा अर्थात प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दर्ता गरिएको छ, चार वटा भने प्रधानमन्त्रीको कदम ठीक भएको र चुनाव हुनुपर्ने माग गर्दै दर्ता भएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal