‘यास’ चक्रवातको प्रभाव : भारी वर्षा हुने सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

२०७८ जेष्ठ १३ गते, बिहीबार

जेठ १३, काठमाडौं । बंगालको खाडीबाट आएको ‘यास’ चक्रवातको प्रभावका कारण नेपालमा बढी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीबाट आएको ‘यास’ चक्रवातको बिहीबार नेपालमा प्रवेश गरेको छ। महाशाखाका अनुसार उक्त चक्रवातको प्रभावका कारण बिहीबार प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै हिमाली क्षेत्रमा हिमपात र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
ठूलो पानीसँगै बाढी, पहिरो तथा डुबानको जोखिम हुने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना अपनाउन आग्रह गरेको छ । प्राधिकरणले आँधीको प्रभावका कारण मनसुन सुरु नहुँदै मौसमजन्य विपद् आउन सक्ने भन्दै सतर्कता अपनाउन र विपद् व्यवस्थापनमा खट्न आग्रह गरेको हो ।
प्राधिकरणले नदी किनारहरुमा सतर्क भएर बस्न र कुनै खतरा भएमा सुरक्षाकर्मीलाई जानकारी गराउन भन्दै विपद् व्यवस्थापनमा संलग्न सरकारी एवम् गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई उच्च सतर्क अवस्थामा रहन भनेको छ ।
सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । यस्तै प्राधिकरणले पर्वतारोहणका लागि हिमालमा गएको टोलीलाई तुरुन्त सुरक्षित ठाउँमा फिर्ता बोलाउन पनि आग्रह गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal