लुम्बिनीमा भएको राष्ट्रिय सभा उपचुनावमा कांग्रेस उम्मेदवार पाण्डेय विजयी

२०७८ जेष्ठ १७ गते, सोमबार

जेठ १७, बुटवल । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपचुनावमा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । जम्मा २९७ मत खसेकोमा पाण्डेले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरेका छन् भने खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४ मत प्राप्त गरेका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ २ मत बदर भएको छ ।
माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा चुनाव भएको हो । चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको थियो । विपक्षी गठबन्धनले कपिलवस्तुका दृगनारायण पाण्डेयलाई उम्मेदवार बनाएको हो । उनी भर्खरैमात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिँदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए। पाण्डेयलाई माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal