नयाँ भेरियन्ट देखिएपछि भियतनाममा सामूहिक परीक्षण सुरू, दैनिक १ लाख परीक्षण गरिने

२०७८ जेष्ठ १७ गते, सोमबार

जेठ १७, काठमाडौं । भियतनाम सरकारले सोमबारबाट कोरोना भाइरसको नयाँ भेरिएन्टको सामूहिक परीक्षण सुरू गरेको छ । होची मिन्ह शहरमा जोखिममा रहेकाहरूको सामूहिक परीक्षण सुरु गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अब प्रत्येक दिन १ लाख भन्दा बढी व्यक्तिहरूको परीक्षण गर्ने योजना रहेको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले परिक्षणका साथै शहरमा १५ दिनका लागि नयाँ सामाजिक दूरीका उपायहरू घोषणा गर्दै पसल र रेस्टुरेन्टहरू बन्द तथा धार्मिक गतिविधिहरूमा समेत प्रतिबन्ध गरिएको छ ।
साताको अन्त्यमा अधिकारीहरूले देशमा देखा परेको नयाँ भेरिएन्ट धेरै खतरनाक रहेको बताएका थिए । नयाँ भेरियन्ट भारत र बेलायतमा पहिचान गरिएका भेरियन्टको पनि हाइब्डि रहेको र हावाबाट पनि सजिलै सर्नसक्ने बताइएको छ ।
भियतनाममा हालसम्म ७ हजार जना संक्रमित हुँदा ४७ जनाको मृत्यु भएको छ । यद्यपि पछिल्लो नयाँ भेरियन्ट देखा परेसँगै एकै पटक १ सय २५ नयाँ संक्रमित थपिएका छन् । हो ची मिन्ह शहरमा आयोजित एक धार्मिक कार्यक्रमका कारण उक्त प्रकोप फैलिएको समाचारमा उल्लेख छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal