जसपा अध्यक्ष ठाकुर र महतो समूह सरकारमा सहभागी हुने

२०७८ जेष्ठ १८ गते, मंगलवार

जेठ १८, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र जसपाका नेताहरु बीच सरकारमा सहभागी हुने विषयमा सहमति नजिक पुगेको जसपाका एक केन्दि«य सदस्यले सिएनएन एक्प्रेसलाई बताए । उनका अनुसार ठाकुरले आठ मन्त्री र दुई राज्यमन्त्री पाउनुपर्ने दाबी गरेका छन् । तर, प्रधानमन्त्री ओलीले गृहबाहेक खाली ६ मन्त्रालय लिएर सरकारमा सहभागी हुन प्रस्ताव गरेको स्रोतको दाबी छ ।
जसपाले संविधान संशोधन, झुठा मुद्दा फिर्ता, जेलमा रहेका नेता रेशम चौधरीको रिहाइ, नागरिकता समस्या समाधानलगायत मुद्दा उठाउँदै आएको छ । सरकारले केही माग पूरा गरेको र केही पूरा हुने प्रक्रियामा रहेकाले जसपा सरकारमा सहभागी हुन सक्ने सम्भावना बढेर गएको छ । यद्यपि, एमालेजस्तै जसपामा पनी चर्को विवाद छ । ओली सरकारमा सहभागी हुने विषयलाई लिएर जसपा फुटनजिक पुगेको छ ।
जसपाभित्र एकअर्कालाई स्पष्टीकरण सोध्ने होडबाजीसमेत चलेको छ । चितबुझ्दो जवाफ नदिएमा कारबाही गरिने चेतावनीयुक्त स्पष्टीकरण सोधिए पनि कसैले जवाफ भने दिएका छैनन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal