विश्वकप तथा एसिया कपको संयुक्त छनोट खेल खेल्न नेपाली टोली कुवेतमा

२०७८ जेष्ठ १८ गते, मंगलवार

जेठ १८, काठमाडौं । विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली टोली कुवेत पुगेको हो ।
नेपाल टोली इराकसँगको मैत्रीपूर्ण खेल खेलेर त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । कुवेतमा नेपाली टोलीले तीन खेल खेल्ने छ । पहिलो खेल नेपालले यही जेठ २० गते चाइनिज ताइपेईसँग खेल्ने छ । दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ ।
कुवेत पुगेपछि नेपाली टोलीका सबै सदस्यको पीसीआर परीक्षण गरिएको थियो । सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ ।
नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन।
विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal