कोरोना सङ्क्रमणको नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा थपिन सक्ने

२०७८ जेष्ठ १८ गते, मंगलवार

जेठ १८, काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा थपिने संकेत देखिएको छ । चौथो पटक निषेधाज्ञा थप्दा पनि कोरोना सङ्क्रमण नघटेपछि जारी गरिएको निषेधाज्ञा थपिने संकेत देखिएको हो।

कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेको बुझिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका थिए । सो अवधिमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै अहिले सम्म करिब ३३ हजार सवारी साधन र एक हजार आठ सय जनालाई ‘होल्ड’ गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उपत्यका प्रवेशको सात नाकासहित पाँच सय स्थानमा नियमित जाँच चौकी स्थापना गरिएको छ । काठमाडौँमा पहिलो तीन हप्ताको निषेधाज्ञामा कोरोना सङ्क्रमण नघटेपछि चौथो पटक थप कडाइ गरिएको छ। सोही रणनीतिअनुसार खाद्य, थोक तथा किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पूर्ण रूपमा बन्द छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal