चीनले अनुदानमा दिएको खोप ६० देखि ६४ वर्षका नागरिकलाई लगाइने

२०७८ जेष्ठ १९ गते, बुधबार

जेठ १९, काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्षका नागरिकलाई लगाउने सरकारले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि लगाइने छ । नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ ।
चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नौ लाख डोज खोप आज काठमाण्डौ आइपुगेको छ । एक लाख डोज भोलि आइपुग्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप दिने घोषणा गरेका थिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal