चीनको सिनोभ्याक खोपलाई पनि डब्ल्यूएचओको अनुमति

२०७८ जेष्ठ १९ गते, बुधबार

जेठ १९, काठमाडौं । चीनले विकास गरेको सिनोभ्याक खोपलाई पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगको अनुमति दिएको छ ।
चीन, ब्राजिल, चिली, इण्डोनेशिया, मेक्सिको लगायतका देशमा प्रयोग भइरहेको कोरोना विरुद्धको खोप सिनोभ्याकलाई डब्ल्यूएचओले आपतकालीन प्रयोगको अनुमति दिएको बीबीसीले जनाएको छ । चीनले नै विकास गरेको सिनोफार्म खोपले अघि नै डब्ल्यूएचओबाट आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ ।
आपतकालीन प्रयोगको अर्थ उत्पादन, सुरक्षा र प्रभावकारिताका हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको भन्ने रहेको डब्ल्यूएचओले जनाएको छ । सिनोभ्याक १८ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउन सकिन्छ भने दुई देखि चार हप्ताको बीचमा दोश्रो मात्रा लिनुपर्छ ।
यो खोपले लक्षणसहितको सङ्क्रमणलाई आधा भन्दा बढी र अस्पताल भर्ना हुने दरलाई शतप्रतिशत रोक्ने अध्ययनले देखाएको छ । दुई देखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने सिनोभ्याक विकासोन्मुख देशहरुको लागि उपयोगी हुने देखिन्छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal