राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा जेठ २५ देखि आवेदन दिन सकिने

२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वार्षिक साढे ८ प्रतिशत ब्याज पाइने ऋणपत्रमा जेठ २५ गते देखि आवेदन दिन सकिने भएको छ। बैंकले ८.५० प्रतिशत आरबिबिएल डिबेञ्चर, २०८३’ निष्काशन तथा बिक्री खुला गरेको हो। सो ऋणपत्रको अवधि ६ वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।
ऋणपत्र खरिदका लागि छिटोमा जेठ २८ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ८ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी सिङ्गल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal