नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा : ५३.४४ अंकले बढ्यो, करिब १७ अर्बको कारोबार

२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । आज नेप्से दुई हजार नौ सय ६० दशमलब १४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । नेप्सेले यसभन्दा अगाडिको २ हजार ९०६ विन्दुको रेकर्डलाई ब्रेक गरेको हो । नेप्सेका अनुसार आज शेयर बजार ५३।४४ अंकले बढेको छ भने १६ अर्ब ९५ करोड १३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये तीन वटा समूह बाहेक अन्य समूह बढेका छन् भने अधिकांश फाइनान्स र विकास बैंकको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।
कारोबारमा आएका २१८ ओटा कम्पनीमध्ये ३६ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि भएको छ । ३६ ओटा कम्पनीमध्ये ७ ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।
गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, जानकी फाइनान्स, सांग्रिला डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक र ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।
कारोबारमा आएका १३ ओटा समूहका परिसूचकमध्ये सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ९ दशमलव शून्य ४ प्रतिशत र वित्त समूहको ८ दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी, बैंकिङ समूहको परिसूचक १ दशमलव शून्य ३ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ४७ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव ९९ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ७८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव २१ प्रतिशत, अन्य समूहको परिसूचक २ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव ६५ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक २ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, होटल एण्ड टुरिजमको परिसूचक शून्य दशमलव ४६ प्रतिशत, माइक्रोफाइनान्स समूहको शून्य दशमलव ४५ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ८८ प्रतिशतले घटेको छ ।
पछिल्लो सयम लगानीकर्ताहरुले सेक्टरवाइज लगानी गरेको देखिन्छ । हाइड्रोपावर समूहबाट विकास बैंक र वित्त समूहमा लगानीकर्ता सिफ्ट भएको पाइन्छ । अल्पकालिन लगानीकर्ताहरुले एक समूहबाट प्रोफिट बुक गर्दै सेक्टर परिवर्तन गरेको देखिन्छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal