युरो कपमा युक्रेनले नर्थ म्यासेडोनियालाई हरायो

२०७८ असार ४ गते, शुक्रबार

असार ४, काठमाडौं । युरो कप अन्तर्गत आज भएको पहिलो खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई हराएको छ । रोमानियाको नेशरन एरिनामा भएको खेलमा युक्रेनले नर्थ मेसेडोनियालाई दुई–एक गोल अन्तरले हराएको हो ।
युक्रेनले पहिलो हाफमा नै दुई गोल गरेको हो । युक्रेनका लागि खेलको २९ औँ मिनेटमा एन्ड्रीय यार्मोल्नेकोले र ३४ औँ मिनेटमा रोमन यारेमचुकले गोल गर्दै पहिलो हाफमा टिमलाई दुई–शून्यको अग्रतामा राखेका थिए ।
तर दोस्रो हाफको ५७ औँ मिनेटमा इज्ग्जान एलिओस्कीले गोल गर्दै म्यासेडोनियाको खाता खोले । म्यासेडोनिया खेलमा फर्किने सङ्केत गरे पनि थप गोल गर्न नसक्दा हार बेहोर्न पुग्यो ।
जितसँगै समूह ‘सी’ मा रहेको युक्रेन दुई खेलमा तीन अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ भने दुई खेल नै हारेको म्यासेडोनिया पुछारमा छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal