नेप्से सामान्य अंकले घट्यो, ५ अर्ब ८३ करोडको कारोबार वित्त समूहका लगानीकर्ताहरुले कमाए

२०७८ असार १६ गते, बुधबार

असार १६ काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक शून्य दशमलव १५ प्रतिशत अर्थात् ४ दशमलव १३ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २ हजार ८२३ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २५ प्रतिशत अर्थात् १ दशमलव ३२ अंक घटेर ५२२ दशमलव ३७ विन्दुमा झरेको छ । सामान्य अंकले घटको बजारमा वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन वित्त समूहको परिसूचक सर्वाधिक ५ दशमलव ८१ प्रतिशत बढेको हो ।
त्यस्तै विकास बैंकको परिसूचक पनि यो दिन ३ दशमलव ३७ प्रतिशत बढेको छ भने जलविद्युतको शून्य दशमलव १ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव शून्य ४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९७ प्रतिशत, अन्यको शून्य दशमलव ८६ प्रतिशत, लगानी समूहको परिसूचक सर्वाधिक २ दशमलव २१ प्रतिशतले घटेको छ । त्यस्तै होटल्स तथा पर्यटनको १ दशमलव ३९ प्रतिशत, बैंकिङ्गको शून्य दशमलव २१ प्रतिशत, व्यापारिकको शून्य दशमलव ६१ प्रतिशत, लघुवित्तको शून्य दशमलव ९१ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ६६ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६१ प्रतिशत परिसूचक घटेको छ ।
यस दिन पोखरा फाइनान्सको १० प्रतिशत, सेन्ट्रल फाइनान्सको ९ दशमलव ९७ प्रतिशत, नेपाल फाइनान्सको ९ दशमलव ८६ प्रतिशत, मल्टिपर्पस फिनान्सको ९ दशमलव ७५ प्रतिशत र प्रोग्रेसिभ फाइनान्सको ९ दशमलव ६८ प्रतिशत परिसूचक बढेको छ ।
यो दिन हाइड्रोइलेक्टीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयरमूल्य ४ दशमलव २८ प्रतिशत अर्थात प्रतिकित्ता रू। २० ले घटेर अन्तिम मूल्य रू। ४४७ कायम भएको हो ।
बुधवार कारोबार रकममा पनि कमि आएको छ । यस दिन २२० ओटा कम्पनीको ६८ हजार १९२ पटकको व्यापारमा रू। ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार बराबरको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर कारोबार भएको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal