राउटे युवतीमाथि यौनहिंसा गर्ने तीन जना पुर्पक्षका लागि जेल चलान

२०७८ असार १६ गते, बुधबार

असार १६ काठमाडौं । राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
बुधवार दिउँसो उनीहरूलाई कारागार चलान गरिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ।

गुर्भाकोट नगरपालिका-९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भुपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको हो। मिलनले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौनहिंसा भएको थियो। दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो।

फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय यसअघि सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका थिए। यो घटना हुँदा उनीहरू गुर्भाकोट नगरपालिका(११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए। अहिले उनीहरू त्यो ठाउँबाट सल्यान बसाइँ सरेका छन्। असार ७ गते उनीहरू सल्यानको कालिमाटी गाउँपालिकामा बसाइँ सरेका हुन्।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal