प्रतिनिधिसभा विघटन मुद्दामा बहस सकियो, अर्को पेशी असार २८ गतेका लागि तोकियो

२०७८ असार २१ गते, सोमबार

असार २१, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सोमबार बहस सकिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वको संवैधानिक इजलाशले रिट निवेदक र विपक्षी सरकारतर्फका कानुन व्यवसायी र एमिकस क्यूरी (अदालतका सहयोगी) समेतको तर्फबाट सुनुवाई सकाएको हो । प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलाशले असार ९ गतेदेखि मुद्दाको सुनुवाई थालेर असार २१ गते सकाएको हो ।
सोमबार रिट निवेदक शेरबहादुर देउवासहित १४६ जना सांसदका तर्फबाट जवाफी बहस र एमिकस क्यूरीले आ–आफ्ना धारणा इजलाश समक्ष राखेका थिए । सुनुवाई सकिएपछि मुद्दाको अर्को पेशी यही असार २८ गते सोमबारका लागि तोकिएको छ। मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।
जेठ ८ गते प्रधानमन्त्री ओलीले गराएको संसद विघटनविरुद्ध कांग्रेस सांसद देउवासहित १४६ जना प्रतिनिधि सभाका सांसदले सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए । देउवासहितका सांसदले जेठ १० मा रिट हालेका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal