क्रिस्टियानो रोनाल्डोले बने “युरोकप २०२०” को सर्वाधिक गोलकर्ता

२०७८ असार २८ गते, सोमबार

असार २८, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो युरोकप २०२० को सर्वाधिक गोलकर्ता बनेका छन् । सोमबार सम्पन्न युरोकपमा इटली ५३ वर्षपछि च्याम्पियन बन्दा पोर्चुगलका सुपर स्टार रोनाल्डो सर्वाधिक गोलकर्ता बनेका हुन् । साविक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरिए पनि रोनाल्डो पाँच गोलसहित गोल्डेन बुट जित्न सफल भएका हुन् । उनले समूह चरणमा ३ खेलबाट ५ गोल गरेका थिए । चेक रिपब्लिकका प्याट्रिक सिकले पनि रोनाल्डो समान पाँच गोल नै गरेका थिए । तर रोनाल्डोले एक असिस्टसमेत गरेकोले उनी अघि रहे ।रोनाल्डोले समूह चरणमा हंगेरी र फ्रान्सविरुद्ध २-२ तथा जर्मनीविरुद्ध १ गोल गरेका थिए ।

त्यस्तै ४ गोल गरेका फ्रान्सका करिम बेन्जामा सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा रहे । इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा युरोकप २०२० को उत्कृष्ट खेलाडी बने । इटलीलाई ५३ वर्षपछि युरोकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डोनारुम्बा प्लेअर अफ दि टुर्नामेन्ट बने । इटलीले सोमबार इंग्ल्याण्डमा फाइनलमा पेनाल्टीसुट आउटमा पराजित गर्दा उनले उत्कृष्ट प्रदर्शन गरे । डोनारुम्बाले दुई पेनाल्टी बचाएपछि इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा ३-२ ले पराजित गरेको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal