अमेरिकाले उपलब्ध गराएको एक मात्रा मात्रै लगाउँदा हुने १५ लाख खोप आज नेपाल ल्याइँदै

२०७८ असार २८ गते, सोमबार

असार २८, काठमाडौं । अमेरिकाले उपलब्ध गराएको जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा आज नेपाल ल्याइँदैछ । खोप आजै काठमाण्डौ आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराइएको खोप औपचारिक कार्यक्रम गरेर आज नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी छ ।

चीनबाट पनि थप आठ लाख खोप आउँदो शुक्रवारसम्म ल्याउने तयारी छ । चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट आउँदै गरेको जोनसोन खोप के कसरी वितरण गर्ने भनेर सरकारले निर्णय गरिसकेको छैन ।

अमेरिकाबाट नेपालले पाउने जोनसन एन्ड जोनसनको खोप भने वैदेशिक रोजगारीमा जान सुनिश्चित भएका कामदार, शिक्षकसहित अग्रपङ्क्तिमा खटिने पेशाकर्मी र ५० देखि ५५ वर्षको उमेर समूहलाई दिने प्रस्ताव गरिएको छ ।
यसबारे केही दिनभित्रै निर्णय हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal