२२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघको बाँदरको भेषमा प्रदर्शन

२०७८ श्रावण ५ गते, मंगलवार

साउन ५, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ । उनीहरुले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिरमा गद्दार लेखेर प्रदर्शनमा उत्रिएका थिए।

हिजोमात्रै यही समूहले माधवकुमार नेपालको पुत्ला खोलामा लगेर जलाएको थियो। पार्टीका आफ्नै सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवाको पक्षमा मत दिएको आक्रोस पोख्दै उनीहरुले चर्का नाराबाजी पनि गरेका थिए। बाँदरले आफ्नो घर पनि बनाउँदै, अरुको पनि बन्न दिँदैन भन्ने नेकपा एमालेका सांसदहरुले देखाएको भन्दै उनीहरुले बादर जुलुस निकालेको जनाएका छन्।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal