कांग्रेसका महाधिवेशनहरु २००३ देखि २०७८ सम्म

२०७८ मंसिर २८ गते, मंगलवार

नेपाली कांग्रेसले बि.स.२००३ सालमा राष्ट्रिय कांग्रेसका नामबाट सुरु गरेको प्रजातान्त्रिक यात्रा विभिन्न आरोह अवरोह पार गर्दै १४औं महाधिवेशनमा एकता,उत्साह र रुपान्तरणको नारा सहित २०७८ मा सम्पन्न गर्दैछ। बि.स. २००३ सालको बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको कांग्रेसले २००७ सालको सशस्त्र क्रान्ति सफल पारेको कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको सदैव अगुवाई गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र सम्म नेपाललाई लेराईपुराएको छ। यो अवस्था सम्म आइपुग्नका लागि नेपाली कांग्रेसका इतिहासिक नेतृत्वहरु धन्यवादका पात्र त छन नै, त्यो भन्दा पनि अझ कृतज्ञताका पात्र आम गाउँ घरमा कृयाशिल रहेका आम कांग्रेसी नेता कार्यकर्ता छन। राणाको बर्बर शासनका विरुद्ध बन्दुक भिरेका ती कार्यकर्ताको अध्मय साहस र पराक्रमले नै १०४ बर्षिय जहानिया तन्त्रको अवसान भयो। २०१५ सालको आम निर्वाचनमा कांग्रेसलाई दुई तिहाई मत दिलाउन प्रचारमा खट्ने देखि पन्चायतका काला दिनहरुमा रक्तको ज्वाला बाल्दै क्रान्ति को कमान समाल्ने ती वीर कांग्रेसी कार्यकर्ताको उर्जा र तेजले निरङ्कुश पन्चायती ब्यबस्था समाप्त भएको हो। २०५१ साल देखि सशस्त्र द्वन्दको नेतृत्वको गरेको माओबादीहरुका गोलि र बमको निसाना पनि गाउँ गाउका कांग्रेस कार्यकर्ता नै थिए, आफ्नो आस्था र बिचारको जगमा अडिक रहेका कार्यकर्ताहरुकै हिम्मत र साहसका कारण माओबादी शान्ती प्रक्रियामा आयो र नेपालमा २०६२/६३मा संघिय लोकतान्त्रिक गणतन्त्रको आन्दोलनलाई देशको कुना कन्दरा सम्म पुराएर परिवर्तनको लहर लेराउन सफल भएका नेपाली कांग्रेसका कार्यकर्ता प्रती नमन गर्दछु।
कांग्रेस बिचारले गतिशिल रहने पार्टी हो। २००३ साल देखि २०७८ सम्म आईपुग्दा कांग्रेसले आफ्ना बिचार मार्फत जनतामा स्थापित हुँदै आएको छ। २००३ सालको मजदुर आन्दोलनको नेतृत्व गर्दै प्रजातान्त्रिक आन्दोलनको अगुवाई गरेको कांग्रेसले आफ्नो पहिलो सभापति जेल जिवन बिताइरहेका प्रजा परिषदका सभापति टंक प्रसाद आचार्यलाई मानेर बिपि कोइरालालाई कार्यवाहक सभापती मानेर स्थापित भएको थियो। त्यो बेला कांग्रेस नेतृत्व प्रधान नभई बिचार प्रधान रहेको प्रष्ट बुझाइ टंक प्रसादलाइ सभापती मान्नुले देखिन्छ। कांग्रेसको दोस्रो महाधिवेशन २००४ सालमा हुदा बिपि कोइराला हिरासतमा रहदै पार्टी सभापती निर्वाचित भएका हुन भने डिल्लीरमण रेग्मी कार्यवाहक सभापती रहेका थिए,२००५ सालको तेस्रो महाधिबेशनबाट कार्यवाहक सभापति चुनिएका मातृका प्रसाद कोइराला २००६ सालमा भएको राष्ट्रिय कांग्रेस र प्रजातान्त्रिक कांग्रेस बिचको एकीकरण पस्च्यातको चौथो महाधिवेशनबाट सभापती चुनिए। यो महाधिवेशनले पहिलो युगान्तकारी घोषणा पत्र जारि गर्यो।
एक एक बर्षमा महाधिवेशन सम्पन्न गर्दै आएको कांग्रेसले २००६ पछि २००९ मा महाधिवेशन सम्पन्न गरेको थियो जसबाट बिपि कोइरालालाई पार्टी सभापती चुनेको थियो भने सरकार सञ्चालनका क्रममा पार्टी निर्देशन नमानेको भन्दै काठमाडौँको विशालनगरमा सम्पन्न वि.सं. २००९ साउन ८–२३ को पार्टीे विशेष महासमिति बैठकले प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, नारदमणि थुलुङ र महाविर शमशेर लगायतका नेतालाई कारबाही गरेपछि पार्टी फुटेको थियो । छैटौं महाधिवेशन २०१२ सालमा सम्पन्न गरेको कांग्रेसले यो महाधिवेशनबाट राष्ट्रियता प्रजातन्त्र समाजबादको सिद्धान्तलाई औपचारिक रुपमा अंगालेको थियो साथै सुवर्ण शमशेरलाई पार्टी सभापती चुनेको थियो।
आन्तरिक बिवादका कारण २०१४ सालमा विराटनगरमा विशेष महाधिवेशन भयो । यो विशेष महाधिबेशनले बिपी कोइरालालाई सभापतिमा, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई महामन्त्रीमा तथा सुवर्णशमशेरलाई कोषाध्यक्षमा मनोनयन गरेको थियो ।
२०१६ सालमा काठमाडौँमा सम्पन्न सातौं महाधिबेशनले वी.पी. कोइरालालाई पुनः पार्टीभापति बनायो । तर २०१७ सालमा राजा महेन्द्रले कु गरि तरुण दलको सम्मेलन स्थलबाट नेपाली कांग्रेसका नेताहरुलाई गिरफ्तार गर्दै सम्पुर्ण राजनैतिक पार्टीहरुलाइ प्रतिबन्ध गरेका थिए। नेपाली कांग्रेसले पन्चायती ब्यबस्थाका विरुद्ध अबिचलित रुपमा सशस्त्र बिद्रोह देखि जनमत संग्रहमा प्रतिस्पर्धा गर्दै सत्याग्रह सम्म पुगेको कांग्रेसले २०४६ सालमा भएको जन आन्दोलनको नेतृत्व गरेको थियो र नेपालमा प्रजातन्त्र स्थापित गर्यो। २०४४ सालमा भएको झापा महाधिवेशनले कांग्रेसका कार्यवाहक सभापती कृष्ण प्रसाद भट्टराईलाई पार्टी सभापती निर्वाचित गरेको थियो। २०४८ यता २०५३ मा भएको नवौ महाधिवेशनबाट गिरिजा प्रसादलाई सभापती चुनेको कांग्रेसले बिस्तारै संघर्षका दिनमा अंगालेको त्याग,निष्ठा र सदभावको राजनितीलाई शक्ति र सत्ता संघर्षको अन्त्यहिन गन्तब्यमा धकेलेको थियो। २०५७ सालको १०औं को पोखरा महाधिबेसन र २०६२ को काठमाडौ ११औं महाधिवेशनले गिरिजा प्रसादलाई नै नेतृत्वमा निरन्तरता दिनुका साथै पार्टीलाई बिभाजित तुल्याउन सफल भयो। १२औं महाधिवेशनले पार्टी एकता गर्दै सुशील कोइरालाको नेतृत्वमा अगाडी बढाएको कांग्रेसको १३औं महाधिवेशनमा आइपुग्दा पार्टी बिभाजन गरि सत्ता र शक्ती चाखेका शेर बहादुर देउवालाई पार्टी सभापति निर्वाचित गर्यो। १४औं महाधिवेशन सम्पन्न गर्दै गरेको कांग्रेसमा शरे बहादुर सहित चार अन्य सभापतिका उम्मेदवार छन, डा.शेखर कोइराला,प्रकाशमान सिंह,बिमलेन्द्र निधि र कल्याण गुरुङ्ग।
पहिलो महाधिवेशन देखि १४औं सम्म आइपुगेको कांग्रेस बिचार बिहिन,चरम गुटबन्धी र स्वार्थ पुर्तीको अखडामा परिणत हुदैछ भन्नू अत्यन्त दुखदायी अनुभुती रहन्छ। २००३ सालको महाधिवेशनले देखेको प्रजातान्त्रिक ब्यबस्थाको सपनालाई पूरा गर्न २००६ सालको एकीकरण र महाधिवेशनले अत्यन्त महत्वपूर्ण भुमिका र अर्थ राख्छ, सोहि भुमिकाका कारण कांग्रेसले सशस्त्र क्रान्ति सफल पार्न सकेको थियो। प्रत्येक बर्ष महाधिवेशन गर्ने परम्परा बोकेको कांग्रेसले १४औं महाधिवेशनसम्म आइपुग्दा आफ्नो महाधिवेशनलाई नियमित निर्धारित अवधीमा सम्पन्न गर्न सकेको छैन,
अस्तबेस्त भात्री संस्था,बिधिबिधानलाई स्वार्थ सिद्ध पार्नका लागि कुल्चन सक्ने नेतृत्व र सत्ता र शक्तीका आसक्त नेतागणका कारण कांग्रेस महाधिवेशनमा बिचारको मन्थनलाई थाती राखी निर्वाचन र नेतृत्वलाई प्राथमिकता दिएको छ। नेपाली कांग्रेसले निर्धारण गर्ने अवधारणा र नितिले समर्ग मुलुकको प्रजातान्त्रिक आन्दोलनलाई नेतृत्व गर्दछ, तर आज कांग्रेस भित्रका अनेकौं बिकृतीका कारण प्रजातान्त्रिक ब्यबस्थाका ब्यबहारिक पाटोहरु काल्पनिक हुँदै गएका छन।
नया पुस्ताका रुपमा उदाएका नया नेतृत्व भनिएका हरु पनि लगभग ४५-५० को सेरोफेरोको उमेरमा पुगेका छन,र आफुलाई यो युग सुहाउदो नेतृत्व दाबी गर्दै गुटलाई संस्थागत गर्ने महाअभियानमा सक्रिय छन। एकता, उत्साह र रुपान्तरणको नारा दिएर सुरु भएको महाधिवेशनमा एकता भन्दा बढी अनेकता, उत्साह नेतृत्व र शक्ति आर्जनका लागि र रुपान्तरण नाममै सिमित गरिएको छ। नितिले नेतृत्व तय गर्ने गरेको कांग्रेसमा नेतृत्व मात्रै प्राथमिकतामा पर्नु दुखदायी छ। कांग्रेसका नया पुस्ता पनि दुई प्रकारका देखिन्छ्न, एउटा बैचारिक भने अर्को अवसरबादी, कांग्रेस नेताका संरक्षणमा अबैध कारोबार देखि ठेक्का पट्टा सम्म गर्ने। कांग्रेसको संरक्षणमा फाइदा लिने खाले नया पुस्ताले कांग्रेस भित्र प्रोत्साहन पाउदै गर्दा बैचारिक नया पुस्तामा उत्पन्न हुने वैमनस्यताले पनि कांग्रेसलाई बैचारिक पार्टीबाट सत्ता,शक्ति र स्वार्थमा रोमलिएको सिन्डिकेटमा सिमित गर्न सक्छ। समाबेशी को सदुपयोग गरि भुई मान्छेको प्रतिनिधित्व हुनुपर्नेमा धनाढय अर्वपती, शक्तीशाली ब्यक्तीका आफन्त, नाता गोतालाई समाबेशी मार्फत नेतृत्वमा लेराइनु बिधानको चरम दुरुपयोग हो। १४औं महाधिवेशनको नेतृत्वले नीति,बिचार र सिद्धान्तलाई प्रोत्साहन गर्न सकोस र कांग्रेस भित्रको गुटगत सिन्डिकेट तोड्न सकोस भन्ने कामना गरौं।
जय नेपाल।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal