एक लाख माग भएको म्यादी प्रहरीमा ३ लाखको आवेदन, सबै भन्दा धेरै आवेदन मधेश र लुम्बिनी प्रदेशबाट

२०७८ चैत्र १२ गते, शनिबार

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि १ लाखको संख्यामा माग भएको म्यादी प्रहरीका लागि करिब ३ लाख जनाले आवेदन दिएका छन ।

म्यादी प्रहरीका लागि २ लाख ९३ हजार २ सय ६३ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुबाट आवेदन लिइएको थियो । जसमा सबै भन्दा धेरै आवेदन मधेश र लुम्बिनी प्रदेशमा परेको छ  । मधेशमा ६८ हजार ४९ जनाले आवेदन दिएका छन् ।

त्यस्तै, लुम्बिनीमा ५६ हजार १ सय ७४ आवेदन परेको छ । त्यसैगरी प्रदेश १ मा ४९ हजार ३ सय ४२, बागमतीमा ४४ हजार ३ सय ८२, सुदूरपश्चिममा २८ हजार ६ सय एक र गण्डकीमा २४ हजार ३ सय ६९ आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबै भन्दा कम कर्णालीमा १८ हजार ५ सय १४ आवेदन परेको छ ।

उपत्यकाका तीन जिल्लामा १३ हजार ९ सय ५० जनाले म्यादीमा भर्ना हुन इच्छा देखाएका छन् । प्रत्येक जिल्लाको संख्या तोकेर म्यादी प्रहरीमा भर्ना प्रक्रिया अघि बढाइएको छ । आवेदन दिएकालाई आइतबार सम्पर्क गर्न भनिएको छ ।

१५ चैतदेखि छनोट प्रक्रिया सुरु हुने र २२ गते अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal